Loading...

हाम्रो बारेमा

फोनिज मोरङको इतिहास

पत्रकारिताको तालिम लिएर समाचार लेख्न सिक्दै काम गर्न थालेको झण्डै ३ बर्ष जाति भएको थियो । काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार संघ तत्कालीन अनिज सक्रिय छ भनेको सुने । सायद २०६० तिर राजधानी जाँदा खोज्दै अनामनगरमा रहेको अनिजको कार्यालयमा पुगियो । त्यहाँ अनिल फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङसँग भेट भयो । अनिल गठनको उदेश्य र संगठनको अवस्था बारे बताउनुभयो । संस्था २०५६ पुसमा गठन भएको र संगठनले लिएको उदेश्य, नेपाली पत्रकारिताको बारे छलफल भयो । फोनिजमा अहिले जस्तो सहज हिसावले पत्रकारहरु खुलेर सदस्य लिने र संस्थामा बस्ने अवस्था थिएन । सक्रियताको साथ पत्रकारिता गर्नेहरु जातीय भन्दिन्छन कि भन्ने लिन्थे । सदस्य बनौ, संगठनमा बसौं भन्दा धेरैले मानिहाल्थे केहीले संस्थाको उदेश्य लगायतका बारेमा धेरै बेर केरकार गर्थे । संस्थापक अध्यक्षसँगको त्यही भेटमा मोरङमा अनिजको संगठन बनाउने बिषयमा पनि छलफल भयो । सोही छलफलको आधारमा २०६१ सालको जेठमा मोरङमा सानो भेला गरियो । मोरङको पथरी बजारमा सात जना पत्रकारहरू भेला भएका थियौं ।त्यहीँ भेलाबाट हामी मोरङ अनिजको तदर्थ समिति गठन गर्यौं । अनिजको पोखरामा २०७० सालमा भएको पाँचौ महाधिवेशनले संस्थालाई फोनिज (नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) बनाउने निर्णय गर्यौं। यो पंक्तिहरु फोनिज मोरङ गठन गर्न मुख्य भूमिका खेल्नु भएका संस्थापक सचिव र पूर्ब अध्यक्ष अर्जुन जम्नेली राईको हो । जम्नेली १ नं. प्रदेश समितिका पूर्व अध्यक्ष, पूवं संघीय अनुशासन आयोगको प्रमुख र लुम्बिनीमा भएको आठौ महाधिवेशनबाट हाल संघीय उपाध्यक्ष हुनुहुन्छ । तात्कालीन अनिज र हाल फोनिजको पहिलो भेलामा नरेन्द्र राई, अर्जुन जम्मेली राई, संग्रामसिंह लिम्बू, शौखी बान्तावा, लोकसागर साम्बा, युवराज राजवंशी र सुक्रराज राई गरेर सात जना सहभागीता भएको देखिन्छ । मोरङमा आदिवासी जनजाति पत्रकार महासंघको स्थापना गरेर संगठनको उदेश्य पुरा गर्ने चाहनाको साथ गठन भएको थियो । यो केवल एक संगठन थिएन, सदियौंदेखि दबिएर बसेका आवाजहरूको बुलन्द गर्ने चाहाना थियो । पहिलो भेलामा उपस्थित भएका पत्रकारहरुको आँखामा सपना थियो, मुटुमा जोश । पेशासँगै कलमी शक्ति पनि ।

पहिलो तदर्थ समिति र सपनाहरू
नरेन्द्र राईको संयोजकत्वमा गठित पहिलो तदर्थ समितिले आधारशिला राख्यो । अर्जुन जम्नेली राई सचिव बने र संग्रामसिंह लिम्बूले कोषाध्यक्षको जिम्मेवारी सम्हाले । शौखिन बान्तवना राई, युवराज राजवंशी, मधु राई, भक्तसेर लिम्बु र लोकसागर साम्बाले सदस्यको रूपमा योगदान दिए । यो समिति मात्र नाम भर्ने खालको थिएन । हरेक सदस्यले आ–आफ्ना क्षेत्रमा फिर्ता गएर आदिवासी जनजातिका पत्रकारहरूलाई एकताबद्ध गर्ने काम गरे । कहीं रेडियोमा भएका कार्यक्रमहरूमा, कहीं स्थानीय पत्रिकामा लेख्दै, कहीं सामुदायिक सभाहरूमा बोलेर ।

पहिलो अधिवेशन र नयाँ उर्जा
२०६२ सालको वैशाख महिना । पहिलो औपचारिक अधिवेशनको घडी आयो । अर्जुन जम्मेली राई अध्यक्ष बने । उनीसँगै लोकसागर साम्बा उपाध्यक्ष, शौखिन बान्तावा सचिव र मदन मादेम्बा कोषाध्यक्ष बने । ‘अब हामी केवल सपना मात्र देख्दैनौं, सपनालाई साकार पार्छौं,’ अतित सम्झैदै अर्जुन जम्नेली राईले भने । नयाँ कार्यसमितिमा भक्तशेर लिम्बू, सागर सुब्बा, युवराज राजवंशी, शन्तोष सुब्बा, राम घिसिङ, भक्त राई र पशुपति राई सदस्यहरू थिए । यो टोलीले मोरङभरका आदिवासी जनजातिका पत्रकारहरूलाई एक छाताले मुनि ल्याउने काम गर्यो ।

दोस्रो र तेस्रो अधिवेशन – निरन्तरताको यात्रा
वर्षहरू बित्दै गए । दोस्रो अधिवेशनमा भक्तशेर लिम्बूले नेतृत्व सम्हाले । उनले संगठनलाई बलियो बनाउने प्रयास गरे । आदिवासी जनजातिका मुद्दाहरूलाई मुख्यधारामा ल्याउने, युवा पत्रकारहरूलाई तालिम दिने र सञ्चार माध्यममा उनीहरूको पहुँच बढाउने काम भयो । तेस्रो अधिवेशनमा उत्तम बान्तवा राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भयो । हरेक नेतृत्व परिवर्तनसँगै संगठन सहज बन्दै गयो ।

चौथो अधिवेशन – महिलाको सशक्तिकरण
२०७४ सालमा दिनेश सुब्बा लिम्बूको अध्यक्षतामा चौथो अधिवेशन भयो । यो अधिवेशन विशेष थियो किनभने पहिलो पटक महिला सदस्यहरूको संख्या उल्लेखनीय रूपमा बढेको थियो । रामलावती उपाध्यक्ष, सचिव अनिल श्रेष्ठ, मुना तामाङ सहसचिव, सृजना लिम्बु, राजकुमारी तामाङ, रेखा गुरुङ र बविता राईले सदस्यको रूपमा जिम्मेवारी सम्हाले । ‘हाम्रो संगठनमा महिलाको सहभागिता बढ्नु हाम्रो सबल पक्ष हो,’ त्यसबेला अध्यक्ष दिनेश सुब्बा लिम्बूले भनेका थिए ।

पाँचौं अधिवेशन – निरन्तरता र विश्वास
२०७८ मंसिर २७ गते भएको पाँचौं अधिवेशनले दिनेश सुब्बा लिम्बूलाई पुनः अध्यक्ष बनायो । यो उनको काम र नेतृत्वमाथिको सदस्यहरूको विश्वासको प्रमाण थियो । अशोक गुरुङ उपाध्यक्ष, अनिल श्रेष्ठ सचिव, बविता साम्पाङ राई सहसचिव र राजकुमारी तामाङ कोषाध्यक्ष बनिन् । यस अवधिमा संगठनले डिजिटल पत्रकारिता, सामुदायिक रेडियो र अनलाइन मिडियामा आदिवासी जनजातिको उपस्थिति बढाउने काम गर्यो ।

छैटौं अधिवेशन – नयाँ पुस्ताको नेतृत्व
२०८१ पुस २७ गते भएको छैटौं अधिवेशनले नयाँ इतिहास रच्यो । अनिल श्रेष्ठ अध्यक्ष बने । उनीसँगै विजय खम्बू उपाध्यक्ष, विद्यानन्द चौधरी सचिव, संगीता राई र राजेश राजवंशी सहसचिव, सुरन्जन लिम्बु कोषाध्यक्ष बने । रामकुमारी राईको संयोजकत्वमा लेखा समिति पनि गठन भयो जसमा राजकुमारी तामाङ र युवराज लिम्बू सदस्य छन् ।

आजको फोनिज मोरङ
आज फोनिज मोरङ केवल एक संगठन मात्र होइन । यो आदिवासी जनजातिका अधिकार, संस्कृति र पहिचानको वकालत गर्ने एक शक्तिशाली मञ्च बन्दैछ । यसले सयौं पत्रकारहरूलाई तालिम दिएको छ, उनीहरूको क्षमता बढाएको छ र मुख्यधारामा उनीहरूको पहुँच बढाउने क्रममा छ । २०६१ मा सात जनाले देखेको सपना आज हजारौंको आवाज बनेको छ । कलम, तरवार भन्दा बलियो हुनेनै भयो । एकताबद्ध आवाजले असंभवलाई संभव बनाउने निश्चित छ ।